काठमाडौं– एसोसियसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) ले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य व्यवासयी परिषदले डिजिटल हस्ताक्षरलाई प्रयोगशालाको रिपोर्टमा बन्देज गर्ने निर्णय गरेको भन्दै सच्याउन माग गरेको छ। एसिपिएनले एक विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन काउन्सिललाई आग्रह गरेको हो।
दुवै संस्थाले कात्तिक ३० गते संयुक्त रुपमा जारी गरेको हस्ताक्षर तथा दर्ता नम्बर सम्बन्धी सूचनामा केही अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य प्रयोगशाला लगायतका रिपोर्टहरुमा विज्ञको उपस्थिति वा अनुपस्थितमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग भइरहेको भन्दै डिजिटिल हस्ताक्षर नगर्न भनिएको छ।
काउन्सिलले स्क्यान गरिएको हस्ताक्षरको कानुनी बैधता बारे प्रश्न उठ्ने भएकाले आधिकारीक रिपोर्टहरुमा स्वास्थ्यकर्मीले हासिल गरेको विज्ञतामा मात्र व्यवसायिक दर्ता प्रमाणपत्र प्राप्त व्यक्तिको हस्ताक्षर गर्न गराउन र स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सबै अस्पताल, क्लिनिक, स्वस्थ्य केन्द्र तथा दर्तावाल व्यवसायीलाई सूचित गरेको थियो।
एसिपिएनले भने विश्व नै विद्युतीकरण हुँदै गइरहेको अवस्थामा सबै आधुनिक प्रयोगशालाहरुमा रिपोर्टमा डिजिटल हस्ताक्षरको प्रयोग भइरहेको जनाएको छ।
प्रयोगशाला रिपोर्टमा हस्ताक्षरसँगै स्पस्ट बुझिनेगरी हस्ताक्षर कर्ताको नाम, योग्यता र दर्ता नम्बर हुनुपर्ने काउन्सिलको निर्णयमा आफ्नो समर्थन रहेको एसिपिएनले जनाएको छ। तर विद्युतीय कारोबार ऐनले नै डिजिटल हस्ताक्षरलाई मान्यता दिएको अवस्थामा काउन्सिलले कानुनी बैधताको प्रश्न उठाउनु कतिको कानुन सम्मत छ भनि एसिपिएनले काउन्सिललाई प्रश्न समेत गरेको छ।
एसिपिएनले कानुनी मान्यता प्राप्त डिजिटल हस्ताक्षरलाई बिरामीको उपचारको लागि सहयोग हुन जारी प्रयोगशाला रिपोर्टमा बन्देज गर्ने काउन्सिलको निर्णय सच्याउन अनुरोध समेत गरेको छ।