काठमाडौं– चिकित्सकहरुको डाटा चोरी भएको विषयमा प्रश्न उठेपछि नेपाल मेडिकल काउन्सिलमा आइतबार छलफल भएको छ। काउन्सिलले बोलाएको विशेष बैठकमा काउन्सिलको तथ्यांक सुरक्षा, निर्वाचनमा व्यक्तिगत रुपमा चिकित्सकको विवरण पुगेको विषय र विवरण चोरीको आरोप लागेका चिकित्सकहरुको विषयमा छलफल भएको छ।
छलफलमा काउन्सिलले सिरान टेक्नोलोजीसँग विगतमा प्रयोग गर्दै आएको एसएमएस नम्बर ३७८८८ बाट काउन्सिलको जारी निर्वाचनमा सदस्यहरुले मत मागेकाे विषयमा बढी चर्चा भएको थियो।
छलफलमा काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्ण अधिकारीले ‘डाटा चोरी’को आरोप र उक्त विषयमा समाचार तथा सामाजिक सञ्जाल मार्फत गुनासो आएपछि सिरान टेक्नोलोजीलाई विभिन्न प्रश्नहरु राखेर लिखित जवाफ माग गरिएको जानकारी दिएका थिए।
‘एसएमएस सेवा प्रदायकलाई हामीले ५/६ वटा प्रश्न लेखेर लिखित जवाफ दिन तीन दिनको समय दिएका थियौँ। उहाँहरुको जवाफ आज आइपुग्छ भनेर छलफल डाकिएको थियो। तर उहाँहरुले भोलि मात्र जवाफ दिन्छु भन्नुभएको छ,’ डाक्टर अधिकारीले जलफलमा दिएको जानकारी उद्धृत गर्दै एक सदस्यले भने, ‘उताबाट लिखित जवाफ नआएका कारण ठोस निर्णय नै हुन सकेन।’
काउन्सिलले शुक्रबार नै सिरान टेक्नोलोजीसँग लिखित जवाफ माग गरेको थियो। सिरानले हिजो शनिबार भएको भन्दै भोलिसम्मको समय मागेकाले यो विषयमा थप अनुसन्धान आवश्यक रहेको भन्दै अनुसन्धान अनुसन्धान र छानबिन अगाडि बढाउने निर्णय भएको ती सदस्यले जानकारी दिए।
उनका अनुसार छलफलमा काउन्सिलको तथ्यांक सुरक्षा गर्ने, अहिले देखिएको विवादका विषयमा आइटी इन्जिनियर तथा विज्ञहरुले थप अनुसन्धान गर्ने विषयमा भने सहमति भएको छ।
‘सिरान टेक्नोलोजीबाट लिखित जवाफ आएपछि काउन्सिलले सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका विज्ञहरुबाट थप अनुसन्धान गर्ने निर्णय पनि भएको छ,’ ती सदस्यले भने।
तीनदिन भित्र जवाफ माग गरिएपनि जवाफ नपठाएकाले आजको काउन्सिलको बैठकले सिरान टेक्नोलोजीको जवाफपछि नै डाटा चोरी गरी प्रयोग गर्ने चिकित्सकलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा थप छलफल गर्ने निर्णय भएको छ।
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि मंसिर ३,४ गते उपत्याका बाहिर निर्वाचन भएको थियो। भने आगामी १० र ११ गते काभ्रेको धुलिखेल सहित काठमाडौं उपत्यकामा निर्वाचन हुँदैछ।
उपत्यका बाहिरको निर्वाचनको मिति भन्दा केही दिन अघि काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा तोसिमा कार्की र डा कालु सिंह खत्रीको भोटिङ म्यासेज इसेवा मार्फत चिकित्सकहरुको मोबाइलमा पठाइएको थियो। काउन्सिलले विगतमा प्रयोग गर्दै आएको नम्बरबाट उम्मेदवारका लागि मत माग गरिएको एसएमएस आएपछि डाक्टर खत्री र डाक्टर कार्कीमाथि काउन्सिलको विवरण 'चोरी' गरेको आरोप लागेको हो। तर उनीहरुले भने चुनावको समयमा आफूमाथि गलत आरोप लगाइएको बताउँदै आइरहेका छन्।
काउन्सिलको प्रयोजनका लागि दिइएको व्यक्तिगत विवरण उम्मेदवार चिकित्सकहरुसम्म पुगेको पाइएपछि चिकित्सकहरुले आफूहरुसँग अनुमति नलिइ उम्मेदवारहरुले नम्बर लिनु गलत भएको बताएका थिए।
चिकित्सकहरुको विरोधपछि काउन्सिलले घटनाको विषयमा तत्काल छानबिन गरी डाटा चोरी गर्ने उम्मेदवार चिकित्सकमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको थियो।
काउन्सिलबाट चिकित्सकको विवरण चोरी गर्ने उम्मेदवार चिकित्सकलाई कारबाही गर्ने विषयमा आकस्मिक बैठक गरिएपनि बैठकमा आज भएको छलफल र निर्णय भने सार्वजनिक गरिएको छैन।
काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले आकस्मिक बैठक सकिएको र बैठकको निर्णय सोमबार साँझ लिखित रुपमा सार्वजनिक गर्ने जानकारी दिए।
‘चिकित्सकहरुले काउन्सिलमा बुझाएको डाटाको सुरक्षाको एजेण्डामा आजको बैठकमा छलफल भएको थियो,’ डा अधिकारीले भने, ‘बैठकको निर्णय भने ४८ घण्टापछि मात्र सार्वजनिक गछौं,भोलि बेलुका सम्ममा लिखित रुपमा नै सार्वजनिक गर्नेछौं।’