काठमाडौं - आमा र नवजात शिशुहरुको हेरचाह र स्वास्थ्य सुधार गर्न काम गरेको भन्दै डा आशिष केसीलाई साइट २०२१ अवार्ड प्रदान गरिएको छ।
स्वीडेनस्थित उप्सला विश्वविद्यालको महिला तथा बालबालिका स्वास्थ्य विभागका एसोसियट प्रोफेसर डा केसीलाई कम तथा मध्यम आय भएका देशहरुमा सुत्केरी हुँदा आमा र नवजात शिशुको मृत्युदर घटाउन हेरचाह र सुधारका काम गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो।
स्वीडिस एकाडेमी अफ साइन्सेजले आफ्नो वेवसाइटमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ।
२०१७ मा स्थापित यो अन्तराष्ट्रिय पुरस्कार पाउने डा केसी पाँ चौँ व्यक्ति हुन् भने पहिलो नेपाली चिकित्सक हुन्। उनलाई आगामी बिहीबार केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीमा ग्लोबल हेल्थ नाइट एन्ड साइट अवार्ड २०२१ कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने छ।
नेपाल र नेपालजस्तै कम आय भएका देशहरुमा नवजात शिशु र प्रसवको समयमा हुने मातृ मृत्युदर र पीडा अत्याधिक भएको अनुसन्धानहरुले देखाएका छन्। डा केसीका अनुसार हरेक वर्ष १० देशि १५ मिलियन नवजात शिशुहरुलाई जन्मनासाथ सास फेर्न सहयोग आवश्यक छ। साथै यी देशहरुमा आमा र नवजात शिशुहरुको स्वास्थ्य सेवामा असमानता बढ्दै गएको बताइएको छ।