प्यूठान- कोभिड–१९ विरुद्धको खोप नलगाएका÷छुटेका १८ बर्ष माथिका सबै नागरिकहरुलाई खोप लगाइने भएको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण र नागरिकहरुको स्वास्थ्य रक्षाका लागि यस अघि कोभिड–१९ विरुद्धको खोप नलगाएका १८ बर्ष माथिका सबै नागरिकहरुलाई मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा, एस्ट्राजेनिका र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
सोमबार आयोजित कार्यक्रममा कार्यालयले भौगोलिक अवस्थाको आधारमा कम्तिमा एउटा वडामा ३ देखि ६ स्थानबाट खोप सेवा प्रदान गर्ने जनाएको छ। यसका लागि करिब २ सय ७० वटा खोप केन्द्रबाट खोप लगाउनका लागि स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु परिचालन गरिने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए।
‘यो १८ बर्षभन्दा माथिको उमेर समुहकालागि अन्तिम चरणको खोप अभियान हो त्यसैले आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर सहजै खोप लगाउन सकिन्छ,’ उनले भने।
यो अभियानमा जिल्लामा करिब १ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको खोप फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिए।
स्वास्थ्य कार्यालय प्युठानको तथ्यांक अनुसार हालसम्म ३ हजार ९ सय ५१ कोरोनाबाट संक्रमित भएका छन् भने ८९ जनाको मृत्यू भएको छ। हाल प्युठान जिल्लामा ५ जना कोरोना संक्रमित बिरामी रहेको तथ्यांकमा उल्लेख छ।