बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो।
कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो। तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष एवं निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन्।
क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीन दिने सो शिविर सञ्चालन गरेको हो। ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिवाङ राइजिङ युथ क्लबले समेत शिविर सञ्चालनमा सहयोग गरेको थियो। सो अवसरमा क्लबले हिमालय आँखा अस्पताल पोखरालाई करिब रु आठ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो।
यसअघि पर्वतको मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति मावि, वडा नं १ को सेराबेँसी, पोखरा महानगरपालिका–१५ स्थित परोपकार गुरुकुल आश्रमलगायत स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको क्लबले जनाएको छ। रासस