काठमाडौं - नेपाल मेडिकल काउन्सिललाई काउन्सिलको सदस्य पदका उम्मेदवार डा कुम्भराज जोशीले काउन्सिललगायतका विवरण चोरी भएको विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
डा जोशीले काउन्सिल र निर्वाचन समितिलाई निवेदन लेख्दै घटनाको सत्यतथ्य छानबिन गर्दै मौन अवधिभन्दा अगाडि नै सार्वजनिक गर्न माग गरेका छन्। काउन्सिल निर्वाचनको मतदान १० र ११ गते हुँदैछ। मतदानभन्दा २४ घण्टा अगाडिसम्म मौन अवधि हुनेछ।
डा जोशीले ८ भोलि साँझसम्म घटनाका विषयमा छानबिन गरि यथार्थ बाहिर ल्याउन काउन्सिललाई समय दिएका छन्। घटनाको छानबिन नगरी चुनाव नगर्न काउन्सिलसँग उनको आग्रह छ। छिटोभन्दा छिटो सत्य कुरा बाहिर नआए चुनावी प्रक्रियाबाट अलग हुन बाध्य हुने उनको भनाई छ।
डा जोशीले बुझाएको निवेदनमा काउन्सिलका कुलसचिवसँग आफूले कुरा गर्दा काउन्सिलमा दर्तावाला चिकित्सकहरुले सम्पर्क नम्बर माग्नु गैरकानुनी भएको कुरा उल्लेख छ।
निवेदनमा भनिएको छ, ‘मैले काउन्सिलका कुलसचिवज्यूलाई फोन गरेर काउन्सिलमा दर्तावाला चिकित्सकको सम्पर्क माग्दा यो गैरकानुनी हुने दिन नमिल्ने भन्नुभयो। मतदाताबाट पनि पहिलेको एमएमसी दर्ता सम्पर्क नम्बरमा एसएमएस आएको र अहिलेको चलनमा भएको मा नआएको भनेर गुनासो छ। यो पृष्ठभूमिकामा यदी डाटा चोरीको आरोप गलत भएको हो भने ओरापित उम्मेदवारलाई किन अन्याय गरियो? वा सत्य हो भने हामीलाई एनएमसीले डाटा किन नदिएको र हामीलाई किन अन्याय गरेको?’
काउन्सिलको जारी निर्वाचनमा सदस्य पदका उम्मेदवारहरु डा कालुसिंह खत्री र डा तोसिमा कार्कीमाथि काउन्सिलबाट विवरण चोरी गरेको आरोप लागेको छ। काउन्सिलले यस विषयमा छानबिन गरेको जानकारी दिएको छ। तर छानबिनका विषय भने काउन्सिलले अझै गोप्य नै राखेको छ।
काउन्सिल स्रोतका अनुसार डा खत्री र डा कार्कीले गलत गरेको पाइए पनि युवा चिकित्सक भएकाले उनीहरुको भविष्यमा असर पर्न सक्ने भन्दै केहीले उनीहरुलाई जोगाउनु पर्ने अडान लिएका छन्।
डा खत्री र डा कार्कीले आफूहरुले विवरण चोरी नगरेको दाबी गर्दै आएका छन्।
हेरौं डा जोशीको निवेदन
