काठमाडौं- नेपालमा क्षयरोगका बिरामीमध्ये औषधि प्रतिरोधी क्षयरोगका ४० प्रतिशत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै औषधि सेन्सेटिभ क्षयरोगका १२ प्रतिशत बिरामीमा कोरोना संक्रमण भेटिएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रले गरेको एक अध्ययनमा क्षयरोग भएका बिरामीमध्ये औषधि प्रतिरोधी बिरामीमा धेरै कोरोना संक्रमण देखिएको हो।
केन्द्रका निर्देशक डा प्रकाश शाहका अनुसार औषधि प्रतिरोधी र सेन्सेटिभ बिरामीका पाँच/पाँच सय नमुन परीक्षणका क्रममा उक्त नतिजा देखिएको हो।
क्षयरोग भएका व्यक्तिमा भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुँदा कोभिडको संक्रमण थप सताएको समेत उनले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म ८ लाख १९ हजार ६९९ जनामा पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा हाल ६८ हजार क्षयरोगीहरु रहेको हुन सक्ने अनुमान छ। जसमध्ये २८ हजार रोगीहरु मात्र उपचारको पहुँचमा छन्। बाँकी ४० हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको निर्देशक शाहले बताए।
सामाजिक लाञ्छना र भेदभावको डरका कारण अझै पनि ४० हजार क्षयरोगीहरु लुकेर रहेको केन्द्रले जनाएको छ। २०३५ साल सम्ममा क्षयरोगको अन्त्य गर्ने सरकारको लक्ष्य थियो। तर कोभिडका कारण यो धकेलिदै २०५० सालमा पुगेको शाहले बताए।
‘क्षयरोगको क्षेत्रमा हामी धेरै पछाडी छौँ। २०३५ साल सम्ममा क्षयरोगलाई अन्त्य गर्ने लक्ष्य थियो। तर कोभिडको प्रभावले गर्दा यो २०५० मा धकेलिएका छौँ। यस्तै महामारी आए अझै हामी पछि धकेलिने जोखिम छ,’ उनले भने।