काठमाडौं - स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि छलफल गर्न ७७ वटै जिल्लाका प्रमुखहरुलाई आग्रह गरेका छन्।
एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च लगायतले सुर्तीजन्य पदर्थ नियन्त्रण तथा नियमन सम्बन्धी आयोजना गरेको बहुपक्षीय पैरवी बैठकमा डा सिंहले ऐनले गरेको व्यवस्थालाई लागू गर्न ७७ वटै जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुलाई यही साता भर्चुअल बैठक गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ऐनले दिएको कुराहरुलाई रिजेनेरेट गर्न बल दिन यो साता नै एउटा भर्चुअल बैठक गर्न म आग्रह गर्दछु।’
सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र प्रयोग रोक्न चेतावनीमूलक सन्देशको पालना र प्लेन प्याकेजको विषयमा पैरवी गर्न पनि उनको आग्रह थियो। साथै ७५३ वटै पालिकाका प्रशासकीय अधिकृतसँग यस विषयमा छलफल गर्ने तयारी भएको उनले बताए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कानुन कार्यान्वयन नभएसम्म सुर्तीजन्य पदार्थको प्रयोग रोक्न नसकिने बताएका थिए। एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुले नीति निर्माण तहमा प्रभाव पार्ने गरेको बताए। उद्योगको प्रभावका कारण कानुन कार्यान्वयनमा समस्या भइरहेको उनले बताए। सरकार गम्भीर नभएसम्म कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्ने उनको भनाई छ।
द युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा तारासिंह बमले सरकार कानून कार्यान्वयन तर्फ उत्तरदायी हुनुपर्ने बताए। उद्योगहरुको हस्तक्षेपका कारण नेपालमा राम्रो कानुन भएपनि कागजमै सीमित भएको उनले बताए। ऐन कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मेवार बनाउन आवश्यक रहेकोमा उनको जोड छ।
विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा लोनिम दीक्षितले सुर्तीजन्य पदार्थमा लगाइने कर वृद्धि गर्नुपर्ने बताए। डब्लुएचओले सुर्तीजन्य पदार्थमा लाग्ने कर ७५ प्रतिशत पुर्याउन सुझाव दिएपनि नेपालमा भने ३६ प्रतिशत मात्र कर सरकारले लगाएको छ। सुर्तीजन्य पदार्थमा चेतावनीमूलक अंकित चित्र ९०/९५ प्रतिशत नभई प्लेन प्याकेजमा जानुपर्ने उनले बताइन्।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले नसर्ने रोग भएका व्यक्तिहरुमा कोभिड संक्रमणको जोखिम धेरै हुने बताए। धुम्रपान त्यागी सकेका र सेवन गर्ने दुवैलाई कोभिड संक्रमण र मृत्युको जोखिम धेरै हुने बताए।
शहिद गंगालाल ह्रदय केन्द्रका निर्देशक डा चन्द्रमणी अधिकारीले नेपालमा ह्रदयघात मुटुरोगको समस्या वर्षेनी बढ्दै गइरहेको बताए। जसको मुख्य कारण धुम्रपान भएको उनले जानकारी दिए।