काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहका कारण आँखामा समस्या देखिएका ९९ जनाको निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार सेवा दिएको छ।
विश्व मधुमेह दिवसको अवसरमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्ममा ९९ जनालाई निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार गरिएको तिलगंगाले जनाएको छ।
प्रतिष्ठानले मधुमेहका कारण आँखामा पर्ने असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रम समेत गरेको थियो।
साताभरी प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको थियो।
सोही साताव्यापी कार्यक्रम अन्तर्गत ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएको प्रतिष्ठानले जनाएको हो।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन्। अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असमायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ।
हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने हुन्छ।
तीलगंगा आँखा प्रतिष्ठानकी रेटिना रोग विशेषज्ञ डा रवा थापाका अनुसार डायबेटिक रेटिनोप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो।
मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ।
मधुमेहका बिरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्ने भएकाले आँखामा धेरै असर गरिसकेपछि मात्र बिरामीहरु उपचारका लागि आउने गरेको डा थापाले बताइन्।
ढिला उपचारमा आउदा उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने भएकाले मधुमेहको समस्या देखिएपछि आँखा पनि जाँच गराउनुपर्ने डा थापाको भनाइ छ।
मधुमेहले आँखाको पर्दाको रक्त कोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तस्रब हुनगई दृष्टि कमजार हुने डा थापाले जानकारी दिइन्।
संसारमा कुल अन्धोपना मध्ये ४ दशमलब ८ प्रतिशत अन्धोपना डायबेटिक रेटिनोप्याथीको कारणले हुने गरेको डा थापाको भनाइ छ।
आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको उनले बताइन्।
तिलगंगा आँखा अस्पतालको रेटिना विभागमा दैनिक १५० जना बिरामी आउने गरेकोमा ती मध्ये करिब ५० जना बिरामी मधुमेहको समस्यापछि आँखामा असर पारेर जाँच गराउन आउने गरेको डा थापाले सुनाइन्।
मधुमेहको आँखामा असर 'डायबेटिक रेटिनोप्याथी' सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले 'डायबेटिक रेटिनोप्याथी दिवस' मनाउँदै आएको जनाएको छ।