काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई कोरोनाविरुद्धको खोप अभियानलाई सहजीकरण गर्दै तीब्र पार्न आग्रह गरेको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार जुम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड विरुद्धको खोपको उपलब्धता पर्याप्त रहेको र आउने क्रम पनि रहेकाले खोप कार्यक्रमको सहजीकरणसँगै तीब्र रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारले अहिले भएको खोपको उपलब्धता र पाइपलाइनमा रहेको खोपको आधारमा १८ वर्ष माथिका सबैलाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गरेको जानकारी दिए।
उनले भने,‘ आज मन्त्री ज्यूले सबै प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गर्नुभएको छ। स्टक धेरै भएको र छिट्टै नै थप खोप आउने पाइपलाइनमा रहेकाले खोप कार्यक्रमलाई तीब्रता दिन आवश्यक छ।’
सहप्रवक्ता अधिकारीले संक्रमितको संख्यामा कमी आएपनि जोखिममा कमी नआएकोले खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरे।
पछिल्लो समय कोरोना विरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण दर र गम्भीर हुने जोखिम भने कम देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंसिर ९ गतेसम्म कुल जनसंख्याको २६ दशमलब ८ प्रतिशत जनसंख्याले पूर्ण खोप पाइसकेका छन् भने ३० दशमलब ८ प्रतिशत जनसंख्याले कम्तिमा एक मात्रा खोप लगाएका छन्।
सरकारले नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र फाइजर खोप लगाइरहेको छ।
खोप अभियान सुरु भएदेखि (२०७७ माघ १४) अहिलेसम्म नेपालमा हालसम्म दुई करोड ५४ लाख बढी खोप आइसकेको छ। जसमध्ये एक करोड ७५ लाख २१ हजार ४२३ डोज खोप प्रयोग भइसकेको छ। आएको खोपमध्ये ११ प्रतिशतको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ।
केन्द्रिय खोप भण्डारण केन्द्र र जिल्लाहरुमा अझै पनि ६० लाख बढी खोप स्टकट रहेको स्वास्थ्य मन्त्रलायको भनाई छ।
सरकारले खोप कार्यक्रमलाई तीब्रता दिँदै १८ वर्ष माथिका सबै व्यक्तिलाई खोप दिन सुरु गरिसकेको छ भने १२ देखि १७ वर्षसम्मका व्यक्तिहरुलाई पनि खोप दिन थालिएको छ।
एक महिनाभित्र एक करोड २७ लाख डोज खोप आउँदै
खोप कार्यक्रमसँगै खोप आयातमा पनि तिव्रत्ता दिइएको छ। अगामी एक महिनामा नेपालमा एक करोड २७ लाख ६८ हजार ६४८ डोज कोरोना विरुद्धको खोप ल्याउने तयारी गरिएको छ। जसको तयारी पुरा भइसकेको छ।
‘कोरोना खोप पनि अब नियमित खोप जस्तै आउन थालिसकेको छ। खोप कहाँ कहाँबाट आउने कति आउने भन्ने तयारी पनि करिब सकिएको छ। फाइजर र अन्य थप खोप खरिदको प्रक्रिया भने अन्तिम चरणमा पुगेको छ,’ स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने।
उनका अनुसार विभिन्न कम्पनीले उत्पादन गरेको उक्त खोप डिसेम्बर महिनाभित्र नेपाल आइपुग्ने छ। जस अन्तरगत कोभ्याक्स सुविधाबाट जोन्सन एन्ड जोन्सनको २१ लाख ८८ हजार ८०० डोज, कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत २४ लाख ५४ हजार मोडर्ना, २३ लाख ८६ हजार ८४८ हजार चीनको सिनोर्फामको खोप आउन लागेको छ।
त्यसैगरी, ६० लाख डोज फाइजर खोप खरिदको अन्तिम प्रक्रिया भइरहेकोले उक्त खोप कहिले आउने भन्ने टुंगो लागिसकेको छैन। तर, आगामी जनवरी महिनासम्म पहिलो चरणमा फाइजरको खोप आउने बताइएको छ।