काठमाडौं - महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका मुख्य प्राविधिक सहायक पदमा कार्यरत डा पूर्णकृष्ण प्रजापतिले मेडिकल अधिकृतको रुपमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।
एमडी अध्ययनका लागि मेडिकल अधिकृतको अनुभव आवश्यक भएकाले योग्यताको आधारमा उक्त पदमा काम गर्र्ने व्यवस्था मिलाउन उनले माग गरेका हुन्।
एमबीबीएस अध्ययन पुरा गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स परीक्षा समेत उत्तीर्ण गरेकाले मेडिकल अधिकृतको रुपमा काम गर्न पाउनुपर्ने डा प्रजापतिले बताए। उनी हाल त्रिवि शिक्षण अस्पतालको पाँचौ तहको मुख्य प्राविधिक सहायक पदमा कार्यरत छन्। यसका लागि आफूले पटक पटक अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा निवदेन दिएपनि हालसम्म सुनुवाई नभएको उनले बताए।
उनले भने, ‘यस अस्पतालमा काम गरेको २४ वर्ष भयो। मैले एमबीबीएस अध्ययन पनि गरिसकेको छु। मलाई एमडी अध्ययनका लागि मेडिकल अफिसर÷हाउस अफिसर काम गरेको अनुभव चाहिन्छ। यसका लागि मैले पटक पटक निवेदन दिए। आग्रह गरे। तर मलाई झुलाउने काम मात्र भइरहेको छ।’
रजिष्ट्रारको कार्यालय कीर्तिपुरले पनि कात्तिक १५ गते डा प्रजापतिलाई योग्यताको आधारमा साविक पद कायमै राखी मेडिकल अधिकृत पदमा करार सेवामा काम लगाउन निर्देशन दिएको थियो।
माग सम्बोधनका लागि दबाब स्वरुप उनले डीन कार्यालय अघि बिहान ९ देखि ११ बजेसम्म धर्ना दिने गरेका छन्। हालसम्म आर्थिक प्रशासनमा १५ वटा, डीन कार्यालयमा सात वटा निवेदनहरु पेन्डिङमा रहेको उनले बताए।
‘हालसम्म कयौँ पटक निवेदनहरु दिएँ। तर सबै पेन्डिङमा छन्। सबैले हुन्छ। हामी गर्दैछौँ मात्र भन्छन्। तर अहिलेसम्म केही भएको छैन’ उनले भने।
यता, चिकित्सा शास्त्र अध्ययन संस्थान डीन डा दिव्या सिंह शाहले उनको समस्या समाधान गर्ने प्रयास भइरहेको बताइन्। टेक्निसियनलाई डाक्टरमा अपग्रेड गर्ने व्यवस्था टियुमा नभएको उनले बताइन्।
उनले भनिन्, ‘नियममा त उहाँले माग गर्नु भएको कुरा छैन। तर कसरी मिलाउन सकिन्छ भनेर मैले हेरिरहेकी छु। पहिला उहाँ ल्याब टेक्निसियन हुनु हुँदो रहेछ। पछि एमबीबीएस गरेको हुनु हुँदो रहेछ। काम गरिरहनु भएको छ। तर मिलाउन बाँकी छ। टेक्निसियनलाई डाक्टरमा अपग्रेड गर्ने व्यवस्था टियुमा छैन।’
हाल डा प्रजापतिले न्यूरोमा काम गरिरहेकाले पनि यसलाई कसरी मिलाउन सकिन्छ भनेर छलफल गरिरहेको उनले बताइन्। डाक्टरको फिल्ड नै फरक हुने भएकाले ल्याब टेक्निसियनलाई अपग्रेड गर्न समस्या भइरहेको उनले बताइन्। डा प्रजापतिले राजीनामा दिएर करारमा आए मात्र उनलाई मेडिकल अफिसरको पद दिन सकिने उनले बताइन्।
‘उहाँले राजीनामा दिएर यता करारमा आयो भने कुरा मिलिहाल्छ। तर त्यहाँ राजीनामा पनि दिन खोज्नु हुँदैन। त्यसैलाई त अपग्रेड गर्न सकिदैन। टेक्निसियनलाई त डाक्टर बनाउन सकिदैन’ उनले भनिन्।