काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुधारमा लागेका अस्पताल निर्देशक डा अनुप बास्तोलालाई हटाउने प्रक्रिया अगाडि बढाएका छन्।
कोभिड महामारीमा निरन्तर खटिएका र अस्पताल सुधारमा सक्रिय डा बास्तोलालाई मन्त्रीले हटाउन खोजेपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि आपत्ति जनाएका छन्। मन्त्री खतिवडामाथि निर्देशक परिवर्तन गर्नुको पछाडि आर्थिक चलखेलको आरोप समेत लगाइएको छ।
'अस्पताल सुधारमा खटिएका डा अनुप बास्तोलालाई हटाएर मन्त्रीका केही मानिसहरुले आर्थिक चलखेलमा अर्को व्यक्तिलाई निर्देशक बनाउन खोजेको देखिन्छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'यसमा मन्त्रीले रकम माग गरेको हो वा होइन त थाहा छैन। तर उनी निकट केही मानिसहरुले भने मन्त्रीको नाम लिँदै आर्थिक चलखेल भने गरिरहेका छन्।'
मन्त्री खतिवडाको सचिवालयका एक कर्मचारीले आर्थिक चलखेलको कुरा अस्वीकार गर्दै भने- 'कर्मचारी सरुवा हुने कुरा प्रक्रियागत हो। तर टेकुको निर्देशक हटाउने कुरा अहिले भएको छैन। जहाँसम्म आर्थिक चलखेलको कुरा छ यो सरासर हामीलाई बदनाम गराउने खेल हो।'
मन्त्री खतिवडाले आर्थिक चलखेलको आरोपका विषयमा यस्ता फाल्तु र फटाह आरोप लगाउनेहरुका विषयमा कुनै टिप्पणी नभएको बताए।
'यस्ता फाल्तु र फटाह कुराको पनि जवाफ दिएर हिँड्नछन् कहीँ? यस विषयमा केही पनि भन्दिन,' उनले स्वास्थ्यखबरसँग भने, 'जागिर खाएदेखि अन्तिमसम्म रिटायर्ड हुँदासम्म एकैठाउँमा बस्ने भन्ने कुनै काँही छर? मैले त अहिलेसम्म देखेको छैन। सिडियो पनि सरुवा भएको देखेको छु। एसपी पनि सरुवा भएको देखेको छु। इभन मन्त्रीकै पनि पोर्टफोलियो चेन्ज भएको देखेको छु। शिक्षा अधिकारी पनि चेन्ज भएको देखेको छु। बन अधिकृत पनि चेन्ज भएको देखेको छु।'
मन्त्रालय स्रोतका अनुसार डा बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गर्ने फाइल उठेको छ। डा बास्तोलालाई सरुवा गरेर सरुवा रोग अस्पतालमा डा मनिषा रावललाई निर्देशक बनाउन लागिएको छ।
तर मन्त्रालयका कर्मचारीहरुले नै अस्पताल सुधारमा लागेको र कोभिडका समयमा निरन्तर खटिएका व्यक्तिलाई हटाउन नहुने अडान लिएपछि सरुवाका विषयमा टिप्पणी उठे पनि मन्त्रीले हस्ताक्षर भने गरिसकेका छैनन्।
'डा अनुपलाई हटाउँदा बाहिर नराम्रो सन्देश जाने र मन्त्रीको पनि विरोध हुने भनेर केही कर्मचारीले मन्त्रीलाई जानकारी पनि गराएका छन्' स्रोतले भन्यो, 'तर उहाँले डा अनुपलाई हटाउन पर्छ भन्दै दबाब दिइरहनु भएको छ।'
डा बास्तोला गत असार १४ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए। उनी अस्पताल निर्देशक भएको ५ महिना मात्र पुगेको छ। अस्पताल निर्देशक भएपछि उनले अस्पतालमा थुप्रै सुधारका काम गरेका छन्। अस्पतालको ओपिडी विस्तार, फार्मेसी, बिरामीले सहज रुपमा सेवा पाउन भन्दै विस्तारित सेवा लगायतका सेवा थप गर्दै गएका छन्।
यसका साथै उनले अस्पताल परिसरमा रहेको फोहरमैलाको व्यवस्थापन, कर्माचारीलाई बस्ने व्यवस्था लगायतका काम पनि गरेका छन्।
डा बास्तोलाले अस्पतालको नाममा रहेका जग्गाको खोजी गर्दै ३०० शय्याको अस्पताल विस्तारको योजना समेत अगाडि बढाइसकेका छन्।