बलेवा - कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन्। स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए।
चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ। मेरिस्टोप्स सेन्टरका चिकित्सक राम यादव नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको समूहले बन्ध्याकरण गरेको हो।
शिविरमा २२ जना पुरुषको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गरिएको छ। तीन जना महिलाको अस्थायी बन्ध्याकरण (इम्प्लान्ट) राखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी आचार्यले जानकारी दिइन्। शिविर यही मङ्सिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र १४ गते धौलागिरि अस्पताल बागलुङमा शिविर सञ्चालन हुँदैछ।
'लामो समय रोकिएकाले यसपटक ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य हो', जनस्वास्थ्य निरीक्षक आचार्यले भनिन्, 'हामी लक्ष्यभन्दा धेरैको बन्ध्याकरण गर्छौं।' गत आर्थिक वर्षमा बुर्तिबाङमा भएको शिविरमा आठ जनाको मात्रै बन्ध्याकरण भएको थियो। त्यसयताका शिविर कोरोना त्रासका कारण सञ्चालन हुन सकेका थिएनन्।
रासस