काठमाडौं- विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै विश्वलाई सुरक्षित राख्न एक साथ अगाडि बढिरहेको बताएका छन्।
स्विजरल्यान्डको जेनेभामा जारी विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन पुगेका स्वास्थ्य सचिव डा रोशन पोखरेलसँग कुराकानी गर्दै डा टेड्रोसले नेपालले कोरोनाविरुद्ध गरिरहेको कामको प्रशंसा गरेका हुन्।
डा टेड्रोसले सामाजिक सञ्जालमा डा पोखरेलसँगको तस्बिर राख्दै विश्वलाई सुरक्षित राख्न नेपालले गरेको कामको स्वागत गर्दै कोभिड विरुद्ध सँगै लडौं भनेका छन्।
विश्व स्वास्थ्य सम्मेलनमा नेपालबाट प्रतिनिधत्व गर्दै डा पोखरेल र स्वास्थ्य मन्त्रालयका प्रवक्त डा कृष्ण पौडेल जेनेभा गएका छन्।