काठमाडौं– विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मंगलबार पत्रकार सम्मलेन गर्यो।
टेकुस्थित राष्ट्रिय तालिम केन्द्रमा भएको कार्यक्रममा केन्द्रका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवन कुमार साहले एचआईभी र एड्को अवस्थाबारे प्रस्तुतिकरण प्रस्तुत गरे।
उनले प्रस्तुत गरेको विश्वको तथ्यांकमा सन् २०१० भन्दा सन् २०२० मा नयाँ संक्रमितको संख्या घटेको बताए।
‘सन् २०२० को अन्तसम्म संसारमा ३ करोड ७७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ,’ डा साहले प्रस्तुत गरेको तथ्यांकमा लेखिएको छ, ‘सन् २०२० मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ। सन् २०१० मा २१ लाख नयाँ संक्रमण थियो।’
डा साहले प्रस्तुत गरेको तथ्यांकका अनुसार सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ।
यस्तै सन् २०२० मा मात्रै करिब ६ लाख ८० हजार व्यक्तिको एड्सको कारणले मृत्यु भएको अनुमान छ। जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम हो। सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो।
डा साहले यो तथ्यांक युएनएड्सका प्रकाशनहरुबाट लिएको बताएका छन्।
डा साहका अनुसार नेपालमा एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ। यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी तर सामान्य जनसंख्यामा भने एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो।
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहरुमा सुईद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि बिदेशिनेहरु र जेलका कैदीहरु रहेका छन्।
डा साहका अनुसार यी समूहका व्यक्तिहरुमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी छ।
२०२० को अन्तसम्म नेपालमा ३० हजार ३०० व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ। यस्तै, ७५४ जनामा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ। सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ।
सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८८३ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभ) उपचार लिइरहेका छन्।
डा साहका अनुसार कुल एचआइभी संक्रमित मध्ये ६९ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्।
उपचारको पहुँच बाहिर रहेका ३१ प्रतिशत संक्रमित अर्थात ९ हजार ४१७ संक्रमित कहाँ र कस्तो अवस्थामा छन् त?
केन्द्रकी निर्देशक डा सुधा देवकोटा भन्छिन्, ‘यो सबै तथ्यांक म्याथम्याटिक्सको आधारमा हामीले हिसाब गरेर निकालेको नम्बर हो। त्यो भन्दा कम वा बढी पनि हुनसक्छ। तर ठूलो संख्यामा एचआईभी संक्रमितहरु हिडनमा छन्। उनीहरु कहाँ छन् भन्ने हामीलाई पनि थाहा छैन।’
सरकारले २०३० सम्ममा एचआइभी/एड्सको महामारीलाई अन्त्य गर्ने अर्थात शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ।
यस्तै सन् २०३० सम्म ९५–९५–९५ को लक्ष्य अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतले एआभी औषधिको उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य समेत लिएको छ।
यस्तै सन् २०२६ सम्ममा आमाबाट शिशुमा हुने संक्रमण उन्मूलन गर्ने लक्ष्य समेत बनाएको छ।
हाल एन्टिरेट्रोभाइरल उपचार लिइरहेका एचआईभी संक्रमित वयस्क र बालबालिकाहरु ६९ प्रतिशत रहेको केन्द्रको तथ्यांक छ।
यस्तै भाइरस भार नगन्य अवस्थामा भएका एन्टिरेट्रोभाइरल उपचार पाइरहेका वयस्क र बालकालिका ३१ प्रतिशत छन् भने आमाबाट शिशुमा हुने संक्रमणको निवारणका लागि एन्टिरेट्रोभाइरल उपचार पाउने एचआईभी संक्रमित गर्भवतीक ७३ प्रतिशत मात्र रहेका छन्।
हालको अवस्थालाई हेर्दा र उपचारको पहुँच बाहिर सम्पर्कबिहीन अवस्थामा रहेका अनुमानित तथ्यांकलाई हेर्दा पनि सन् २०३० सम्मको लक्ष्य पुरा गर्ने कार्य चुनौती पूर्ण रहेको केन्द्रकी निर्देशक डा देवकोटा बताउँछिन्।
सरकारले एचआईभी एड्सको कार्यक्रमका लागि वार्षिक ५६ करोड बजेट विनियोजन गर्दै आएको छ। तर, सो बजेट औषधि खरिदका लागि मात्र ठिक्क भएको र बजेट अपुग भएको डा देवकोटाको भनाइ छ।
‘दुईवर्ष देखि सरकारबाट वार्षिक रुपमा ५६ करोड आइरहेको छ। यो बजेट एचआईभी संक्रमितको औषधिमा मात्र खर्च भइरहेको छ,’ डा देवकोटाले भनिन्, ‘सन् २०३० को लक्ष्य हामीले बनाएको होइन, यो अन्तराष्ट्रिय रुपमा बनाइएको हो, यसलाई पुरा गर्न चुनौतीपूर्ण कार्य नै छ।’
सन् २०३० सम्मको लक्ष्य पुरा गर्न उपचारको पहुँच बाहिर रहेकाहरुलाई उपचारको दायरामा ल्याउनुपर्ने र सो कार्य नै चुनौतीपूर्ण रहेको डा साहको भनाइ छ। यसका लागि उनीहरुको औषधि र उपचार खर्चका लागि मात्र नभइ आर्थिक र सामाजिक उत्तरदायित्व पनि पुरा गर्नुपर्ने उनको भनाइ छ।