रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै डाक्टरसहितको स्वास्थ्य सेवा लिन थालेका छन्।
गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा दिएको छ। गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी सेवा दिन थालेको छ। डिआर सिस्टमको एक्स–रे सेवा उपलब्ध गराउनाका साथै गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी नुवागाउँ र नेर्पामा प्रयोगशाला सेवासमेत सञ्चालनमा ल्याएको छ।
“गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले स्थानीयवासी निकै खुसी भएका छन्”, स्थानीयवासी रेखा नेपालीले भनिन्। सामान्य एक्स–रे र प्रयोगशाला सेवाका लागि पनि दाङलगायत जिल्लाबाहिर जानुपर्ने समस्या टरेको नेपालीले बताइन्। आफ्नै घरआँगनबाट यो सुविधा पाउँदा समय र पैसाकोसमेत बचत भएको नेपालीले जानकारी दिइन्।
स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा सुविधा वृद्धि तथा क्षमता विकासमा समेत गाउँपालिकाले लगानी गरेको छ। महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा अझै गुणस्तरीय र भरपर्दो बनाउन उनीहरुको सेवासुविधा पनि थप गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्तामा वार्षिक रु १२ हजार थप गरेको छ।
साथै गाउँपालिकले घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने लक्ष्यसहित काम गरेको छ। घरमा हुने प्रसूतिलाई निरुत्साहत गर्न र संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमाहरुलाई यातायातस्वरुप नेपाल सरकारले उपलब्ध गराएको भत्तामा रु एक हजार थप गरेको गाउँपालिको भनाइ छ।
महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन र संस्थागत सुत्केरीमा गरिएको प्रोत्साहनले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको गाउँपालिकाको स्वास्थ्य शाखाको भनाइ छ। गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सुत्केरी सङ्ख्या ४५.४ प्रतिशत मात्रै रहेकामा आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या बढेर ५६ प्रतिशत पुगेको थियो। साथै गर्भ जाँच गर्नेहरुको सङ्ख्या आर्थिक वर्ष २०७६/७७ मा ४६.७ प्रतिशत रहेकामा आर्थिक वर्ष ०७७/७८ मा यो सङ्ख्या बढेर ६४ प्रतिशत पुगेको थियो।
“महिला स्वास्थ्य स्वयम्सेविकालाई उपलब्ध गराएको प्रोत्साहन भत्ता र स्वास्थ्य संस्थामा प्रसूति गर्न आउनेलाई दिइने थप यातायात सुविधाले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको छ”, गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्ण बुढाले भने। रासस