काठमाडौं- काठमाडौँ मेडिकल कलेजको फार्माकोलोजी विभागले मंसिर २८ र २९ गते (डिसेम्बर १४ र १५) अल नेपाल इन्टर कलेज फर्माकोलोजी क्विज प्रतियोगिताको आयोजना गरेको छ।
कोरोना भाइरसको महामारीका कारण दुई वर्षयता यस्ता क्रियाकलाप नगन्य मात्रामा भएको र विद्यार्थीहरुले पनि यस्ता कार्यक्रम नहुँदा खल्लो मानिरहेको भन्दै विभागले प्रतियोगिताको आयोजना गरेको हो।
काठमाडौं मेडिकल कलेजको फर्माकोलोजी विभागमा कार्यरथ डा बिनय श्रेष्ठ, डा बिनोद राउत, संजय दीक्षित, युरेक रंजित, डा आशिष भट्टराई, डा ज्योती भारती, डा अन्ना आचार्य, डा श्रीजना चौधरी लगायतको टोली प्रतियोगिता सफल बनाउन खटिएका छन्।
फर्माकोलोजी विभागले नभेम्बर महिनामा नै नेपालका मेडिसिन, डेन्टल र फार्मेसी कलेजलाई ईमेल मर्फत् प्रतियोगिताका विषयमा जानकारी गराएको छ। प्रतियोगितामा देशभरका मेडिसिन, डेन्टल र फार्मेसी कलेजका दोस्रो वर्ष देखि इन्टर्नसिप गरिरहेका विद्यार्थीहरुले भाग लिन मिल्ने विभागले जनाएको छ।
प्रितयोगिताका फोकल पर्सन संजयमणि दीक्षित यो प्रतियोगिता कोभिड महामारीकाबीच पृथक ढंगले गर्न लागिएको बताउँछन्।
उनका अनुसार यो क्विज प्रतियोगिता मोबाइल एपको माध्यमबाट गर्न लागिएको छ। प्रतियोगितामा हरेक कलेजले आफ्ना विधार्थीहरु पठाउँदा ४ जनाको टिम बनाएर पठाउनु पर्ने हुन्छ। धेरै विधार्थीलाई सहभागी हुन मन लागेमा ४ - ४ जनाको २ वा सो भन्दा बढी टिम पनि पठाउन मिल्दछ। कलेजले प्रतियोगितामा चासो नदिएमा उक्त कलेजका विद्यार्थीहरुले आफैं पनि प्रतियोगितामा भाग लिन सक्नेछन्।
'डिसेम्बर १४ र १५ गते दुवै दिन ११-१२ बजे को समयमा यो कुइज गराइने छ,' दीक्षितले भने, 'भौतिक रुपले कुनै एकै ठाँउमा भेला हुन नपर्ने र एपको मध्यमबाट गर्न लागिएको हुनाले देशभरका सबै ठाँउका विधार्थीहरुले सहजै यस क्विजमा भाग लिन सक्नेछन्।'
उनका अनुसार एन्ड्रोइड र आइओएस दुवैमा यो एप तयार भएको छ।
क्विज प्रतियोगितामा पहिलो हुने टिमले किताब तथा पैसा गरी करिब ५० हजार प्राप्त गर्ने छन्। दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार र २० हजार प्राप्त गर्ने छन्।
दुई दिने उक्त प्रतियोगितामा भाग लिन नसकेको विद्यार्थीका लागि विभागले पोस्ट क्विज इभेन्ट पनि राखेको छ। उक्त इभेन्ट एक महिना लामो समय चल्ने छ। पोस्ट कुइज इभेन्टमा सबै भन्दा धेरै स्कोर गर्ने विधार्थीले १० हजार प्राप्त गर्ने छन् भने एक महिना पछि सबै भन्दा धेरै अंक प्राप्त गर्ने कलेजले ३० हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुले ४ जनाको टिमको २ हजार शुल्क बुझाउनु पर्ने हुन्छ। प्रतियोगितामा सहभागी हुन विद्यार्थीले १० तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने हुन्छ।