काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। अधिकारीले हालका स्वास्थ्यमन्त्री विरोध खतवडाको नाम उल्लेख नगरी घुमाउरो भाषामा उनी पैसा उठाउने खेलमा सक्रिय रहेको आरोप लगाएका हुन्।
अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा स्वास्थ्य मन्त्रालय अहिले पैसा उठाउन लागेको लेख्दै स्वास्थ्यमन्त्री माथि आरोप लगाउँदै गम्भीर प्रश्न उठाएका छन्।
पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कोभिडको सामना गरिरहेका अस्पतालका निर्देशकहरुाई ७२ घन्टे स्पष्टीकरण सोधेर धम्काइ रहेको कुरा पनि उल्लेख गरेका छन्।
'स्वास्थ्य मन्त्रालय अहिले पैसा उठाउन लागेको छ। कोभिडको सामना गरिरहेका अस्पतालका निर्देशकहरूलाइ ७२ घन्टे स्पष्टीकरण सोधेर धम्काइ रहेको छ। यो खेदजनक छ,' उनले लेखेका छन्।
स्वास्थ्यमन्त्री खतिवडामाथि पछिल्लो समय स्वास्थ्यका कर्मचारीहरुले समेत आर्थिक चलखेलमा सक्रिय भएको आरोप लगाउँदै आएका छन्। मन्त्रालयको नेतृत्वमा आएपछि नीतिगत काममा भन्दा पनि कर्मचारी सरुवामा मात्र बढी केन्द्रीत भएको भन्दै आलोचना समेत हुन थालेको छ।
कोभिड भाइरसको नयाँ भेियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिरहेको समयमा मन्त्री खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई कोभिड संक्रमितको उपचारबाट समेत बञ्चित हुने गरी सरुवा गरेपछि सर्वत्र आलोचना भएको छ।