काठमाडौं - कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले स्वास्थ्य सूचना र सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढाउनु प्रमुख प्राथमिकतामा रहेको जनाएको छ।
अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शाखाले एक कार्यक्रम गरी उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु आफ्नो प्राथमिकतामा रहेको जनाएको हो।
सन् २०१५ को लिभिङ कन्डिसन अमोङ पिपल विध डिसएबिलिटिच इन नेपालको एक अध्ययनले अपाङ्गता भएका व्यक्तिहरुहको ६४ दशमलव ८ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव २ प्रतिशत अन्य स्वास्थ्य सेवाहरुमा पहुँच नभएको देखाएको छ। यस्तै, ८० प्रतिशत पुर्नस्थापना सेवामा पहुँच नभएको अध्ययनमा उल्लेख छ। नेपालको कुल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् ५ लाख बढी व्यक्तिहरु अपाङ्गता रहेको शाखाका प्रमुख डा रविन्द्र बास्कोटाले बताए। जसमध्ये ३६ प्रतिशत व्यक्तिहरु शारीरिक अपाङ्गता छन्।
सरकारले अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि उक्त शाखालको स्थापना गरेपनि जनशक्ति पर्याप्त नरहेको डा बास्कोटाले बताए। हाल उक्त शाखामा तीन जना कर्मचारीहरु मात्र छन्।
कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक गोमादेवी निरौलाले सबै संस्थाहरु अपाङ्गमैत्री हुनुपर्ने बताए। उनीहरुलाई पुर्नस्थापना सेवाको पहुँचमा ल्याउनुपर्ने बताउँदै उनले सरकारले निर्माण गर्ने कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।