काठमाडौं - नेपालमा कोरोना संक्रमित मृतकको संख्या करिब आठ महिनामा शून्यमा झरेको छ। गत २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन।
यसअघि चैत २७ गते कोरोना संक्रमित मृतकको संख्या शून्यमा झरेको थियो। गत २४ घण्टामा २४६ जना संक्रमित भेटिदा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोपको पहुँच र प्रभावकारिता बढ्दै गएकाले मृतकको संख्या शून्यमा झरेको हुन सक्ने मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले बताए।
उनले भने, ‘यो भन्दा पहिले चैत २७ गते कोरोना संक्रमित मृतकको संख्या शून्यमा झरेको थियो। हाल खोपको पहुँच बढ्दैछ। खोपको प्रभावकारिताले नै हुन सक्छ।’
यसअघि बिहीबार कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको थियो। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ।