काठमाडौं - आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस। नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।
नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ। उनीहरुले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरु स्थानीय तहमा पठाउने गरेको महाशाखाकी जनस्वास्थ्य अधिकृत अनिषा अर्यालले बताइन्।
प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको उनले बताइन्। दिवस मनाउनका लागि प्रति गाउँपालिकालाई १०, नगरपालिकालाई १५, उपमहानगरलाई २० र महानगरपालिकालाई २५ हजार उपलब्ध गराउने गरेको छ। यस वर्ष काठमाडौं र भक्तपुरबाट १० जना महिला स्वयंसेविकालाई सम्मान गर्न लागिएको उनले जानकारी दिइन्।