उदयपुर- उदयपुर अस्पताल गाईघाटमा बायोमेडिकल उपकरण मर्मतका लागि प्राविधिक जनशक्ति सहितको आधारभूत प्रयोगशाला (वर्कशप) स्थापना भएको छ। निक साइमन्स इन्स्टिच्युट नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा अस्पतालले वर्कशप तयार गरेको हो।
बिरामीको रक्तचाप नाप्ने जस्ता सामान्य उपकरणहरुदेखि बिरामीको ज्यान बचाउने जटिल प्रकृतिका उपकरणहरु मर्मत गर्नसक्ने सुबिधा सहितको आधारभुत वर्कशप स्थापना भई सेवा समेत सुरु भईसकेको अस्पतालका बायोमेडिकल इन्जिनियरिङ विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए।
संघीय सरकार अन्तर्गतका नेपालका कतिपय ठुला अस्पतालहरु र धेरैजस्तो जिल्ला अस्पतालहरुमा समेत अझै पनि बायोमेडिकल इन्जिनियरिङ वर्कशप र प्राविधिक जनशक्तिको अभावमा करोडौं पर्ने उपकरणहरु संचालनमा आउन नसकिराखेको अवस्थामा उदयपुर अस्पतालले आफ्नै वर्कशप संचालनमा ल्याएको हो।
विगतमा उपकरणहरुमा समस्या आउदा काठमाडौंबाट इन्जिनियरहरु बोलाएर मर्मत गर्दा हप्तौ सम्म सेवा अबरुद्ध भएर बिरामीहरुले ठूलो समस्या भोग्नुपरेको र उपकरण बिग्रेका कारण बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपरेकोमा हाल समयमै उपकरण मर्मत सम्भव हुँदा सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा जीव नारायण मण्डलले बताए।
उदयपुर अस्पतालका अतिरिक्त जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्था तथा छिमेकी जिल्लाका सरकारी अस्पतालहरुले समेत यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ।