काठमाडौं - स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने भएको छ। करुणा अस्पताल र हेल्थ एण्ड होमको आयोजनामा यही पुष १० गते सम्मेलन हुन लागेको हो।
उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रका उद्यमी, प्रमुख, डाक्टर, नर्स, क्लिनीकल र फर्मासिस्ट, गुणस्तरीय तथा सुरक्षा प्रवन्धक, अस्पतालका अधिकारी, स्वास्थ्य नीति निर्मातादेखि विभिन्न प्रोफेसरहरु सहभागी हुनेछन्।
स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा र हेरचाह सम्बन्धी सिप विकास गर्ने सम्मेलनको उद्देश्य रहेको सम्मेलनका आयोजक सचिव डा अनुपराज उप्रेतीले बताए। साथै बिरामीको सुरक्षा अभ्यासहरुले चिकित्सा त्रुटिहरु घटाई सुरक्षित वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु पनि सम्मेलनको उद्देश्य छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पतालहरुमा हुने असुरक्षित हेरचाहका कारण वर्षेनी १ करोड ३४ लाख अप्रिय घटनाहरु हुन्छन्। जसमध्ये २६ लाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ। स्वास्थ्य संस्थाहरुमा हुने यस किसिमको घटनालाई घटाउन सकिने भएकाले सम्मेलन महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ।