काठमाडौं - काठमाडौं मेडिकल कलेज (केएमसी) ले सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ हजार ४६७ बिरामीको निशुल्क उपचार गरिएको छ। स्थानीय संघ–सस्थाहरुसँग सहकार्यमा केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
बागबजारको शिविरमा १९० जनाको रक्त परीक्षण, १७१ जनाको भिडियो एक्सरे र १४५ जनाको इसीजीसहित १ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल म्यानेजर नारायण दाहालले जानकारी दिए। शिविरमा उपचार सम्भव नभएका र अप्रेशन गराउनुपर्ने अवस्थाका ३५ जनालाई अस्पताल रेफर गरिएको छ।
कागेश्वरीमा १ हजार ३ सय ९२ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा २०१ जनाको रक्त परीक्षण, १४९ जनाको भिडियो एक्सरे र ९३ जनाको इसीजी गरिएको छ। शिविरमा २७ जनाको दाँत निकालिएको छ। ४१ जनालाई भने अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ।