काठमाडौं - वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राध्यापक डाक्टर सुरेश पाण्डेद्धारा लिखित ‘टेक्स्ट बुक अफ अर्थोपेडिक्स’ नामक पुस्तक विमोचन गरिएको छ।
चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नी सम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक चितवनको भरतपुरमा विमोचन गरिएको हो। उक्त पुस्तक चिकित्सकले नै लेखिएको पहिलो भएको लेखक पाण्डेको दाबी छ।
उक्त पुस्तकले एमबीबीएस तथा अर्थोपेडिक सर्जरीमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका साथै अध्यापन गर्न निकै प्रभावकारी हुने चिकित्सकहरुले बताएका थिए। करिब ६ वर्षको प्रयासपछि पुस्तक प्रकाशनमा ल्याउन सफल भएको लेखक प्राडा पाण्डेले बताए। उनी चितवनलाई आफ्नो कर्मथलो बनाई करिब १५ वर्षदेखि अध्यापन र बिरामीको सेवामा सक्रिय छन्। हाल उनी चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेज भरपतुरको अर्थोपेडिक विभागमा कार्यरत छन्।
कार्यक्रममा अर्थोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रीय अध्यक्ष डा सुदिप मान वैद्य, नेपाल अर्थोपेडिक एशोसिएसन चितवनका संस्थापक अध्यक्ष प्राडा आनन्दप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवाली, वरिष्ठ क्यान्सर सर्जन प्राडा भक्तमान श्रेष्ठ, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा माधव घिमिरे, डा प्रमोद लामिछाने, डा गोपेन्द्र देव लगायतको उपस्थिति थियो।