सिमकोट- सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ।
गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो। महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ। सर्केगाड -१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए।
पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ। वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उनले बताए ।
सिमकोटमा प्याड बैंक
सिमकोटमा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ। हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा ‘स्वास्थ्य सफा, सेनेटरी प्याडको आवश्यकता : सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो।
महिलाका लागि कम्पनीको अधिकतम खुद्रा मूल्यमा बिक्री गर्ने उद्देश्यले प्याड बैंक स्थापना गरिएको हेड नेपालका छोमु लामाले बताइन् । सडक सञ्जालसँग नजोडिएका हुम्लामा काठमाडौँदेखि नेपालगञ्जसम्म एति एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले निःशुल्क प्याड ढुवानी गर्ने भएका कारण सिमकोटमा सहुलियतमा बिक्री गरिने भएको हो।
सिमकोटमा आइपुगेका प्याड सर्वसाधरणसम्म पुर्याउन हिमाली शिक्षा र विकास हेड नेपालको कार्यालय, डोमा जनरलस्टोर, न्यु हिमालय ट्रेडिङ हाउस र विकास जनरलस्टोरमा पाइने भएको लामाले बताइन् । जिल्लामा विगतको समयमा कुरीतिको रुपमा हेरिने भए पनि अहिले समयानुकूल शिक्षाले परिवर्तन गरिसकेपछि महिनाबारीलाई सामान्य रुपमा हेरिने गरिन्छ।
रासस