काठमाडौं - देशको एक मात्र केन्द्रीय मानसिक अस्पतालले एक सय शय्या थप गर्ने तयारी गरेको छ। आगामी वर्षसम्ममा एक सय शय्या थप गर्ने तयारी भएको अस्पतालले जनाएको छ।
हाल मानसिक अस्पताल ५० शय्यामा मात्र सञ्चालित छ। बिरामीको बढ्दो चाप अनुसार आगामी वर्षसम्ममा एक शय्या थप गर्ने गरी काम भइरहेको अस्पतालका निमित्त निर्देशक डा अनन्तप्रसाद अधिकारीले बताए। शय्या थप गर्नका लागि अस्पतालको वार्ड भवनमाथि प्रिफ्याबको छाना राखेर निर्माणको काम भइरहेको उनले बताए।
उनले भने, ‘हाम्रो दीर्घकालीन योजनामा तीन सय शय्याको बनाउने भन्ने हो। अहिले चाँही कम्तीमा एक सय शय्या मात्र थप्न पाइयो भने पनि राहत मिल्छ।’
हाल मानसिक अस्पतालको ओपीडीमा दैनिक डेढसयदेखि दुई सयसम्म बिरामीहरु उपचारका लागि पुग्ने गर्छन्। कडा खालका मानसिक समस्या भई भर्ना हुने बिरामीहरु भने दैनिक २ देखि ४ जनासम्म आउने गरेको उनले बताए। शय्या अभावका कारण कतिपय बिरामीहरुलाई अस्पतालबाटै फर्काउनु परेको उनेल बताए।
स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्। तर बढ्दो बिरामीको चाप अनुसार जनशक्ति कम भएको उनले बताए।