बलेवा- बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ। स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो।
स्वास्थ्य संस्था नरहेका वडा नं १, ३ र ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। वडा नं १ रामरेखामा गत आर्थिक वर्षदेखि केन्द्र सञ्चालनमा आएको थियो। बुधबार वडा नं ३ खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ। वडा नं ४ उपल्लाचौरमा समेत सेवा केन्द्रको भवन तयार रहेको र सेवा प्रवाह भइरहेकाले सबै नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा आएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
खहरे स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेलले नागरिकको आधारभूत आवश्यकतामा पर्ने स्वास्थ्य सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको बताए। स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य केन्द्रको स्थापना र नगर अस्पतालसमेत सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए। मध्यपहाडी लोकमार्गको छेउमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले सडकमा सुत्केरी हुनुपर्ने बाध्यताको अन्त्य हुने उनकाे भनाइ थियो।
खहरेमा निर्माण भएको भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुदानमा तयार भएको हो। सो भवन रु ६१ लाखको लागतमा दुई वर्षमा निर्माण गरिएको हो। भवन अभावमा सेवा साँघुरो कोठाबाट प्रवाहहुँदै आएको थियो।