काठमाडौं- नेपाल औषधि लिमिटेडले जीवनजल बनाउने नयाँ प्रविधिको उपकरण ‘फर्म फिल सिल मेसिन’ (एफएफएस) जडान गरेको छ। जीवनजलको उत्पादन बढाउने उद्देश्य सहित नयाँ प्रविधिको उपकरण जडान गरेको लिमिटेडले जनाएको छ।
दुई करोड ९१ लाख मूल्य बराबरको उपकरण जडान गरिएको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। यसअघि लिमिटेडसँग जीवनजल बनाउने दुई वटा मेसिन भएपनि ती मेसिन पुराना भएकाले बजारको माग अनुसार उत्पादन गर्न समस्या हुने गरेको उनले बताए।
उनले भने, ‘हामीसँग पहिले नै जीवनजल बनाउने दुई वटा मेसिन थिए। तर त्यो मेसिन पुरानो र गति पनि कम भएकाले हामीले विश्व स्वास्थ्य संगठनको जीएमपी ग्रेडको एफएसएस मेसिन थप गरेका हौँ।’
पहिले भएका मेसिनले एक मिनेटमा २२ देखि २६ वटा जीवनजल निकाल्न सक्ने क्षमता थियो भने एफएफएसको अटोमेटिक मेसिनले एक मिनेटमा ७२ वटा जीवनजल निकाल्न सक्ने उनले बताए ।
उनका अनुसार नेपाल औषधि लिमिटेडले हाल दैनिक तीन ब्याजसम्म जीवनजल उत्पादन गरिरहेको छ । एक ब्याजमा १२ हजार प्याकेट जीवनजल उत्पादन हुने गर्छ। नयाँ प्रविधिको उपकरण जडान गरेपछि जीवनजलको उत्पादन बढ्ने सफिउल्लाहले बताए।