काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट कोरोना विरुद्धको मोडर्ना खोप लगाउने अभियानको सुरुवात गरेका छन्।
मन्त्री खतिवडाको उपस्थितीमा विद्यालयका छात्र संगम खत्री र छात्रा विनिताकुमारीलाई खोप लगाएरसँगै देशभर मोडर्ना खोप अभियान सुरु भएको हाे। मकवानपुर मन्त्री खतिवडाको गृह जिल्ला हो भने भुटनदेवी माध्यमिक विद्यालय उनी अध्ययन विद्यालय गरेको हो।
देशभरका ५७ वटा जिल्लामा आजबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए। खोप अभियान केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।
मन्त्री खतिवडाले हाल कोरोना विरुद्धको खोप पर्याप्त रहेको भएपनि खोप लगाउन मानिस नआउने गरेको गुनासो गरे। उनले सबै ठाउँका विद्यालयमा पुगेर सबै विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउने भएकाले निश्चिन्त भएर खोप अभियानमा सहभागी हुन र आफ्ना अभिभावकहरूलाई खोप लगाउन बाध्य पार्ने परिस्थिति सृजना गर्न समेत आग्रह गरे।
आजदेखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ।