काठमाडौं– चिकित्सा शिक्षा आयोगले विशिष्टकृत सेवा दिने अस्पतालहरुमा विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन प्रक्रिया अगाडि बढाएको छ।
आयोगले नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम तर्फ सब स्पेसियालिटिज कार्यक्रमका लागि सिट निर्धारण समेत गरिसकेको छ। जसअन्तर्गत पहिलो चरणमा सर्जरी विषयमा डिएम/एमसिएच/एनबिएमएसका लागि सिट निर्धारण भएको हो।
आयोगले पहिलो चरणमा ४ वटा ठूला अस्पतालहरुका लागि ६ विषयमा ७ सिट निर्धारण गरेको हो।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीका अनुसार पहिलो चरणमा आयोगको ऐन अनुसार मापदण्ड पुगेका ४ वटा अस्पतालमा विशेषज्ञ चिकित्सक पढाउन सिट निर्धारण गरिएको हो।
आयोगले अध्ययन अनुमति दिएका अस्पतालहरुमा काठमाडौंको बाँसबारीमा रहेको उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्च्टिच्युट न्युरोलोजिकल एण्ड अलाइड साइन्सेसमा न्युरो सर्जरीका लागि दुई सिट, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा सर्जिकल अंकोलोजी थोरासिस र सर्जिकल अंकोलोजी जेनिटो युरिनरीमा एक एक वटा सिट, नेपाल मेडिसिटी अस्पताल भैसीपाटी ललितपुरमा न्युरोसर्जरी र जिआई सर्जरीमा एक एक सिट तथा ह्याम्स अस्पतालमा क्रिटिकल केयरमा एक सिट निर्धारण गरिएको छ।
आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि विशेषज्ञ चिकित्सक अध्ययन गराउन सिट निर्धारण गरेको जनाएको छ।
यसै शैक्षिक सत्रदेखि अध्ययन गराउन गत असोज १२ गते आयोगको कार्यकारी समितिबाट नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज अन्तर्गत चिकित्सा शिक्षा अध्यापन गर्ने शिक्षण संस्थाहरुको अनुगमन, गुणस्तर मूल्यांकल तथा सिट र्निधारण कार्यविधि,२०७८ स्वीकृत गरेको थियो ।
आयोगका उपाध्यक्ष डा गिरीका अनुसार यो कार्यक्रम प्रतिष्ठान र विश्व विद्यालय बाहेकका अस्पतालहरुका लागि सञ्चालनमा ल्याइएको हो।
अन्य देशहरुमा अस्पतालहरुमा पनि यसरी अध्यापन गराउने गरिएको भएपनि नेपालमा भने पहिलो कार्यक्रम भएको डा गिरीले जानकारी दिए।
‘यो तालिम केन्द्र जस्तै हो, यो आयोगकै कार्यक्रम हो। यो कार्यक्रम विश्वविद्यालय र प्रतिष्ठान बाहेकका संस्थाहरुमा सञ्चालन हुने हो,’ डा गिरीले भने, ‘अस्पतालहरुको तालिम गर्न सकिने भौतिक पूर्वाधारण फ्याकल्टीहरु छन् भने तीनिहरुलाई मान्यता दिएर सञ्चालन गर्ने हो। यो नेपालमा पहिलो कार्यक्रम हो।’
हाललाई ठूला अस्पतालहरुमा सर्जरी विभागमा अध्यापनका लागि मापदण्ड अनुसारको क्षमता भएकाले सर्जरी सम्बन्धि विषयमा अध्यापन गराउन लागिएको डा गिरीले जानकारी दिए।
आगामी दिनमा अस्पतालको क्षमता अनुसार अन्य विषयको पनि अध्यापन गराइने डा गिरीले जानकारी दिए।
विद्यार्थी छनौट तथा भर्ना प्रक्रिया भने आयोगले डिएम र एमसिएचको भर्ना प्रक्रियाबाट छनौट भएका विद्यार्थीले भर्ना पाउनेछन्।
उनले भने, ‘अस्पतालहरुमा भर्नाका लागि विद्यार्थी छनौट प्रक्रिया पनि अघि बढिसक्यो, डिएम एमसिएच अध्यापनका लागि प्रवेश परीक्षा दिएर पास भएकाहरुले अस्पतालमा अध्ययन गर्न पाउछन्।’
डा गिरीका अनुसार अस्पतालहरुमा पनि विश्वविद्यालय तथा प्रतिष्ठानमा जस्तै मेरिटको आधारमा विद्यार्थी छनौट गरिने छ।
विश्वविद्यालय तथा प्रतिष्ठानमा प्रोफेसरहरुले अध्ययन तथा प्रयोगात्मक अभ्यास गराउदै आएकोमा यो कार्यक्रम भने अस्पतालहरुमा सिनियर कन्सलटेन्टले दिने हाइ लेभलको तालिम भएको गिरीको भनाइ छ।
‘यो अध्ययन पढ्ने भन्दा पनि अस्पतालहरुमा रहेका सिनियल कन्सल्टेन्टहरुले काम गराएर सिकाउने हो,’डा गिरीले भने, ‘यो हाइ लेभलको पिएचडी बराबरको तालिम हो।’