पर्वत– पर्वत जिल्ला अस्पताललाई २ करोड रुपैयाँबराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो।
लायन्स क्लबका तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ। जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो।
लायन्स क्लबको तर्फबाट १ करोड १६ लाख ३८ हजार १२०, सांसद पदम गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित ३५ लाख, कुस्मा नगरपालिकाले १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष ३३ लाख २५ हजार ९९५ सहित रु एक करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष वसन्तकुमार कर्माचार्यले जानकारी दिए।
जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर प्रदान गरिएको दाता संस्थाले जनाएका छन्। अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आईसीयू बेडलगायत सामग्री हस्तान्तरण गरिएको हो। रासस