काठमाण्डौं- कोभिड-१९ महामारीको समयमा नेपालका २ देखि ४ वर्ष उमेर समुहका प्रत्येक पाँच जना बालबालिका मध्ये एक जना विकासको लयभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको युनिसेफले यस्तो तथ्याङक सार्वजनिक गरेको हो। विशेष गरी कोभिड महामारीले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको तथ्याङ्कमा उल्लेख छ।
युनिसेफले गरेको प्रारम्भिक बाल विकास सूचकांक सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका हेरचाहकर्ताहरूको अधिनमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका विकासको लय भन्दा बाहिर रहेका छन्।
खासगरि उनिहरुमा स्वास्थ्य, सिकाइ र मनोसामाजिक असर परेको पाइएको छ। निजी कार्यक्रमहरूमा भाग लिनेकाे तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरु विकासको लयभन्दा बाहिर रहेको पाइएको छ।कोभिड-१९ महामारीले नेपालमा बालबालिकाको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको पाइएकाे छ।
युनिसेफले २८५३ घरधुरीहरूका २ देखि ४ वर्ष उमेर समूहका बालबालिकामा उक्त सर्वेक्षण गरेको थियो। सर्वेक्षण गरिएकामध्ये आधा बालबालिका पूर्व प्राथमिक तहमा भर्ना भएको पाइएको जनाइएको छ। यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका कुनैपनि विधिवाट सिकाइमा संलग्न नभएको पाइएको छ। धेरै जसो बालबालिकाको घरमै ट्यूशनमा पहुँच रहेको तथा दूर शिक्षण जस्ता सरकारले सञ्चालन गरेका वैकल्पिक सिकाइ माध्यमहरू कम प्रयोग भएको पाइएको छ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका हेरचाहकर्ताहरूको अधिनमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिकालाई विशेष ध्यान दिन युनिसेफले सुझाएको छ।
यस्तै, अभिभावकहरूले बालमैत्री पुस्तकहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने जस्ता गतिविधिहरू गर्दै बालबालिकालाई मनोसामाजिक असर पर्नबाट बचाउनुपर्ने तथ्याङकमा उल्लेख छ।