प्युठान- प्युठानका सामाजिक अभियान्ताहरुले कोभिड‐१९ संक्रमितहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन। उनिहरुले यसका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन्।
सोमबार सेभ द चिल्ड्रेन ग्लोवल फन्डको सहयोग र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले सञ्चालन गरेको कोभिड‐१९ सचेतना कार्यक्रममा सहभागिहरुले कोभिड‐१९ संक्रमितहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको भन्दै सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका हुन्।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले समाजमा कोराना भाइरसबाट संक्रमितहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउँदै यसलाई हटाउन यसबारेका भ्रम र यथार्थबारे स्पष्ट हुनुपर्ने बताए। उनले भने 'पहिले कुष्ठरोगी,क्षयरोगीहरुलाई जसरी भेदभाव र घृणा गर्थे समाजमा अहिले बिस्तारै कम भएको छ।'
कोरोना भाइरस संक्रमण भएपछि समाजले गर्ने बहिष्कार र हेर्ने गलत धारणाले गर्दा समाजमा अझै कोरोना जाँचको दायरा बढ्न नसकेको जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले बताए।
भाइरसले कसैलाई पनि नछाड्ने भएकाले समाजमा सबैले यसप्रतिको गलत बुझाई र धारणामा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको उनले बताए। उनले सामाजिक सञ्जालमा सुचना आदानप्रदान गर्दा वा शेयर गर्दा जिम्मेवार बनेर जथाभावी रुपमा भ्रम नफैलाउन सबैलाई अनुरोध समेत गरे।
लामो समयदेखि जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले सामाजिक अगुवाहरुले कोभिड‐ १९ विरुद्धको लाञ्छनालाई हटाउन गम्भीर रुपमा सोच्नुपर्ने बताए।