काठमाडौं– स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवा तर्फको चौथोदेखि छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि आफैंले गर्ने भएको छ।
संघीयता पछि चौथौ देखि छैटौं तहसम्मका कर्मचारीहरु प्रदेश अन्तर्गत रहने व्यवस्था भएपनि स्तरवृद्धिका लागि आवश्यक थप ऐन तथा नियमावली नबनेपछि स्वास्थ्य तर्फका कर्मचारीको स्तरवृद्धि विभागले नै गर्न लागेको हो।
चौथो तहदेखि छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धिका लागि स्वास्थ्य मन्त्रालयले विभागलाई निर्देशन दिइसकेको विभागका सूचना अधिकारी महेश पाण्डेले जानकारी दिए। उनका अनुसार चौथो देखि छैटौं तहसम्मका नर्सिङ तथा पारामेडिक्स गरी करिब २ हजार कर्मचारीको स्तरवृद्धि हुनेछ।
‘संघीयता पछि प्रदेशले नै स्तरवृद्धि गर्नुपर्ने भएकाले हामीले मन्त्रालयलाई प्रदेशलाई अधिकार दिने प्रस्तावको फाइल पठाएका थियौं,’ विभागका सूचना अधिकारी पाण्डेले भने, ‘मन्त्रालयले नियमावली नबनेसम्म प्रदेशले गर्न मिल्दैन भनेपछि फेरी विभागलाई नै जिम्मेवारी आयो।’
विभागले स्वास्थ्य सेवा ऐन २०५३ मा व्यवस्था भएअनुसार नै कर्मचारीको स्तरवृद्धिको तयारी गर्न लागेको विभागका सूचना अधिकारी पाण्डेको भनाइ छ।
संघीयता अघि स्वास्थ्य सेवा विभागले हरेक वर्ष दुई पटक गर्दै आएको थियो। यसअघि असारमा पनि स्वास्थ्यकर्मीको स्तरवृद्धि विभागले नै गरेको थियो।