काठमाडौं– सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले उत्पादन थप्ने भएको छ। लिमिटेडले हेमोडायलाइसिसका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने तयारी गरेको छ। लिमिटेडले हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी गरेको हो।
आगामी तीन महिनामा बजारमा औषधि लैजाने गरी काम भइरहेको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। उनले भने, ‘औषधि उत्पादनका लागि हाल काम भइरहेको छ। आगामी तीन महिनामा औषधि बजारमा लैजाने हाम्रो तयारी छ।’
औषधि उत्पादनका लागि आवश्यक पर्ने मेसिन खरिद प्र्रक्रिया सकेर जडान गर्ने तयारीमा रहेको उत्पादन प्रमुख मिलन सुवेदीले बताए। उपकरण, माइक्रोबायोलोजी ल्याब, कच्चा पदार्थ गरी ६ करोड ८४ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।
महाप्रबन्धक सफिउल्लाहका अनुसार हेमोडायलाइसिस गर्ने दुई दुवै औषधिको मूल्य बजारमा साढे चार सयदेखि पाँच सयसम्म पर्छ। औषधि उत्पादन भएपछि बजार मूल्यभन्दा १८ सय रुपैयाँ सस्तो पर्ने उनले बताए। औषधि उत्पादन पश्चात हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका सुलभ मुल्यमा औषधि प्राप्त गर्न सक्ने सफिउल्लाहको विश्वास छ।
उनले भने, ‘अमेरिका र थाइल्याण्डमा रहेको बेक्स्टर नामक एक कम्पनीले यो औषधि बनाउँछ। बाहिरबाट ल्याउँदा यो औषधि निकै महँगो पर्छ। तर यही उत्पादन हुने भएपछि बिरामी र सरकार दुवैलाई सहज हुन्छ। र, सस्तो पनि पर्छ।’
यसअघि नेपाल औषधि लिमिटेडले जीवनजल बनाउने नयाँ प्रविधिको उपकरण जडान गरिसकेको छ। नेपालमा सरकारी स्तरबाटै आधुनिक औषधि उत्पादन उत्पादन गर्ने उद्देश्यका साथ कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो।