बाजुरा- बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ। कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखि सो मेसिन सञ्चालनमा ल्याइएको हो।
जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो। कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेल्धुरा जानुपर्ने बाध्यता थियो। जिल्लामै पिसीआर मेसिन सञ्चालनमा आएपछि ७७ जनाको स्वाब परीक्षण गरिएको जोशीले बताए। जिल्लामा जाँच गराउँदा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
“पिसीआर ल्याब सेवा सञ्चालन हुँदा एन्टिजेन जाँच र स्वाब सङ्कलन गरी जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ”, उनले भने। पिसीआर ल्याब सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गरेको हो। जिल्ला अस्पतालले प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स र शव वाहनसमेत खरिद गरेको छ।