इलाम- इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ। इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसँगै सेवा सुरु भएको हो।
जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो। सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ।
इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ। अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो। चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ।