काठमाडौं– समयमै खोप नआएपछि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यक्रम प्रभावित हुने भएको छ।
सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप दिने तालिका सार्वजनिक गरेको थियो। तर निर्धारित समयमा खोप नआउने भएपछि खोप कार्यक्रम सर्ने भएको हो।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत किशोर–किशोरीलाई लगाउन ६ लाख २० हजार मात्रा फाइजर खोप आउने भनिएकोमा खोप आउने तालिका केही दिन पछाडि सरेको छ। २४ डिसेम्बरमा खोप आउने भनिएपनि सो खोप कहिले आउने भन्ने अन्यौल रहेको विभागले जनाएको छ।
स्वास्थ्य कार्यालय काठमाडोंका खोप सहायक नेत्र प्रसाद सापकोटाले आवश्यक मात्रामा खोप नआएपछि १३ गतेको खोप कार्यक्रम केहि दिन पछाडि सर्ने बताए। '१३ गतेको कार्यक्रम केहिदिन पछाडि सर्छ, खोप आएपछि मात्रै काठमाडौंमा फाइजर खोप अभियान सुरु हुन्छ,' सापकोटाले भने।
नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो। सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो।
सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ।
यसबाहेकका ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ।
खोप लगाउन सिरिन्जको अभाव
कोरोनाविरुद्ध खोपको सिरिन्ज अभाव हुन थालेको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार भण्डारणमा खोपको मात्राअनुसार सिरिन्ज छैन।
प्रदेश १ मा खोपको मात्रा अनुसार सिरिन्ज कम भएकाले खोप अभियानमा बाधा पुग्ने देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी खोपअनुसार सिरिन्ज खरिद गर्न नसक्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोरी रहेको बताउँछन्।
केन्द्र र प्रदेशमा गरेर १ करोड २० लाख डोज खोप भण्डारणमा रहेपनि आवश्यक मात्रामा सिरिन्ज नहुँदा खोप कार्यक्रम प्रभावित हुने देखिएको छ ।