काठमाडौं- दमकको पशुहाटमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। पुस ९ देखि ११ गतेसम्म शिविर आयोजना गरिने घुन्सा फाउण्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्।
शिविर दमक नगरपालिका वडा ७ को कार्यालयमा हुने भएको हो। घुन्सा फाउण्डेसन, दमक नगरपालिका र विपन्नका लागि स्वास्थ्य नेपालको संयुक्त आयोजना उक्त शिविर हुन लागेको हो।
उक्त शिविरका लागि प्राविधिक सहयोग मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरको रहने भएको छ। उक्त अस्पतालका मुटुरोग विशेषज्ञ शिविरमा उपलब्ध हुने शेर्पाले बताइन्। चेकजाँचका क्रममा मुटुमा समस्या देखिएका विपन्न तथा बालबालिकाको थप उपचारका लागि आफूहरुले सहजीकरण गर्ने शेर्पाले बताइन्।
उनले भनिन्, 'सरकारी सुविधाबाहेकको खर्चका लागि पनि हामी पहल गर्छौं।' त्यहीँ हुने उपचार र औषधि नि:शुल्क उपलब्ध हुने बताइएको छ।