काठमाडौं- सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जनाएका छन्।
मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको जनाए।
उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए।
पछिल्लो पटक ओमिक्रोनको संक्रमण बढ्दै गएको भन्दै खतिवडाले सरकारले सजगताका साथ पुर्वतयारी गरिरहेको बताए।
सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ। उनले सरकारको प्राथमिकतामा रहेको कोरोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गरे।
मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे। ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनले बताए ।
सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ। यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।