काठमाडौं- नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म ११ हजार ५ सय ८२ जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्षसम्मका छन्। मन्त्रालयको तथ्यांकअनुसार ६० देखि ६९ बर्षसम्मका २ हजार ४२९ जनाको मृत्यु भएको छ।
त्यस्तै, ७० देखि ७९ उमेर समूहका २ हजार २ सय ९२, ५० देखि ५९ उमेर समूहका २ हजार १३८, ४० देखि ४९ उमेर समूहका १ हजार ६३५ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्। त्यस्तै, ८० बर्षभन्दा माथिका १ हजार ५६३, ३० देखि ३९ उमेर समूहका ९४१, २० देखि २९ बर्षका ३६१ जनाको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार १० देखि १९ बर्षसम्मका ५७ किशोर–किशोरी र ० देखि ९ बर्षका ४९ बालबालिकाकाे कोरोनाको कारण निधन भएको छ। त्यस्तै १३ जना अज्ञात रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण नेपालमा पहिलो पटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो। मन्त्रालयको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुने दर १ दशमलव ४ प्रतिशत छ।
त्यसैगरी हालसम्म निको हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ। शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ।