काठमाडौं - खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले दिनको चार जना बिरामीको न्यूनतम शुल्कमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने भएको छ।
इण्डोयुरोलोजीले काठमाडौंमा पत्रकार सम्मेलन गरी दिनको चार जना बिरामीलाई सरकारी शुल्कमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने जनाएको हो। आर्थिक अवस्था कमजोर भएका बिरामी उपचारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले न्यूनतम शुल्कमा उपचार गरिने खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीका कन्ल्सटेण्ट युरोलोजिस्ट डा सञ्जय खड्गीले बताए।
उनले भने, ‘दैनिक चार जना गरी मासिक एक सय जना बिरामीको उपचार सरकारी शुल्कमा गर्ने मेरो योजना छ। यो सेवा लिनका लागि बिरामीले आफ्नो वडाबाट सिफारिस लिएर आउनुपर्ने हुन्छ।’
मिर्गौलाको पत्थरीको सरकारी शूल्य हाल २० हजार छ भने निजी अस्पतालमा यसको शल्यक्रिया गर्दा ८५ हजार शुल्क पर्ने उनले जानकारी दिए।
उक्त इन्स्टिच्युटमा नविनतम प्रविधिको प्रयोग गरी बिना ठूलो चिरफार गरी दूरबीनको माध्यमबाट मूत्र प्रणाली र मिर्गौलाको पत्थरीको उपचार हुँदै आएको छ। उक्त प्रविधिबाट गरिने शल्यक्रिया प्रभावकारी हुने र जटिलता हुने सम्भावना कम हुने डा खड्गीले बताए। चार घण्टा लाग्ने शल्यक्रिया हाल आधा घण्टामै गर्न सकिने उनले बताए।
यो सँगै लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया, बाइपोलार शल्यक्रिया तथा अत्याधुनिक प्रविधियुक्त ल्यापारोस्कोपिक शल्यक्रियाहरु गरिने इन्स्टिच्युटले जनाएको छ।