काठमाडौं - स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ सुरु भएको छ।
स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा र हेरचाह सम्बन्धी सिप विकास गर्ने उद्देश्यले करुणा अस्पताल र हेल्थ एण्ड होमले सम्मेलनको आयोजना गरेको हो।
कार्यक्रममा करुणा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रामकुमार श्रेष्ठले अस्पतालहरुमा हुने असुरक्षित हेरचाहका कारण वर्षेनी विश्वभर १ करोड ३४ लाख अप्रिय घटनाहरु हुने जानकारी दिए। जसमध्ये जसमध्ये २६ लाख मानिसको मृत्यु हुन्छन्। स्वास्थ्य संस्थाहरुमा हुने यस किसिमको घटनालाई घटाउन सकिने उनले बताए।
वीर अस्पतालका निमित्त कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतले कोभिड जस्ता महामारी व्यवस्थापनका लागि परम्परागत ढंगबाट नभई नयाँ शैलीबाट बिरामीलाई उपचार दिनुपर्ने बताए। कोभिडले स्वास्थ्य सेवा वितरणदेखि स्वास्थ्य प्रणाली बारे पाठ सिकाएको उनको अनुभव छ।
नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले कोभिड जस्ता महामारी व्यवस्थापन गर्न समन्वय निकै महत्वपूर्ण भएको बताए। सरकारी र निजी स्वास्थ्य संस्था दुवैलाई मिलाएर अघि बढ्नुपर्ने उनको सुझाव छ।
चितवन मेडिकल कलेजका निर्देशक डा हरिश न्यौपानेले बिरामीको उपचारमा नविनतम प्रविधिको प्रयोग गर्नुपर्ने जोड दिए। कोभिडले बिरामीको उपचारमा डिजिटल प्रविधिको महत्व बढाइदिएको उनले बताए। धेरैजसो सेवा डिजिटल प्रविधिबाट गर्न सके बिरामी र चिकित्सक दुवैलाई सहज हुने उनको भनाई छ।
सम्मेलनमा स्वास्थ्य क्षेत्रका उद्यमी, प्रमुख, डाक्टर, नर्स, क्लिनीकल र फर्मासिस्ट, गुणस्तरीय तथा सुरक्षा प्रवन्धक, अस्पतालका अधिकारी, स्वास्थ्य नीति निर्मातादेखि विभिन्न प्रोफेसरहरु सहभागी छन्। बिरामीको सुरक्षा अभ्यासहरुले चिकित्सा त्रुटिहरु घटाई सुरक्षित वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु पनि सम्मेलनको उद्देश्य छ। उक्त सम्मेलनमा विभिन्न विज्ञहरुले बिरामी सुरक्षाका विषयमा छलफल गरिरहेका छन्।