काठमाडौं - जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले इमर्जेन्सी, ओपिडी र जनरल बेडको भर्ना एक महिना निःशुल्क गर्ने भएको छ।
अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै यही पुस १५ देखि माघ १५ गतेसम्म इमर्जेन्सी, ओपिडी र जनरल बेडहरुमा भर्ना शुल्क नलिने व्यवस्था गरिएको प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले बताए।
उनले भने, ‘अस्पतालले असहाय, गरिब, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, ज्येष्ठ नागरिकलगायत बिरामीले सरल र सुलभ रुपबाट उपचार पाउन भन्ने उद्देश्यले एक महिना ती सेवाहरुमा छुट दिन लागेका हौँ।’
अस्पतालले आईसीयू क्षमतासमेत विस्तार गर्न लागेको छ। हाल अस्पतालमा ७७ शय्याको आईसीयू सञ्चालित छ। त्यसमा २३ शय्या थप गर्दै एक सय शय्याको आईसीयू बनाइने उनले जानकारी दिए।
आगामी वर्षभित्र मुटुरोगको सेवा विस्तर गरी क्याथल्याबसहितको पूर्वाधार तयार गरी सञ्चालनमा ल्याइने उनले बताए। यो सँगै अस्पतालमा आगामी वर्षदेखि एक÷एक वटा सिटी स्क्यान, एमआरआई र पाँच वटा अल्ट्रासाउण्ड थप गरिने उनले बताए।
‘इमर्जेन्सीमा बिरामी आउँदा चिकित्सक नहुने, लामो समय पर्खनुपर्ने जस्ता कमजोरीलाई सुधार गर्दै लगेका छौँ। यस अस्पतालबाट अन्यत्र रेफर भइ जान नपर्ने गरी सेवा विस्तार गर्दै लैजाने योजना छ,’ उनले भने।
अस्पतालमा हाल रहेको प्रयोगशालालाई सुविधा सम्पन्न बनाइ सबै किसिमको परीक्षण हुने र ब्लड बैंकको व्यवस्था गरिने जानकारी दिए।
अस्पतालमा पत्रकार र उनको परिवारलाई १० देखि २५ प्रतिशत उपचार शुल्कमा छुट दिने उनले बताए। यसका लागि पत्रकारले सूचना विभागको कार्ड अनिवार्य रुपमा पेस गर्नुपर्नेछ। हाल नेपाल मेडिकल कलेजमा दैनिक ६०० बिरामी उपचारका लागि पुग्ने गरेका छन्।