जुम्ला- जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए। १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ। हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ। खोप कार्यक्रम जारी छ।
कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए। थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ। तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ। यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए।