काठमाडौं- कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास सर्वत्र बढेको छ। भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ९६१ पुगेको छ।
बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।
कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ। राजधानी दिल्ली र अर्को प्रमुख सहर मुम्बईमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ। अहिले भारतभरि ९६१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ भने तीमध्ये दिल्लीमा २६३ र मुम्बईमा २५२ जना संक्रमित पुगेका छन्।
गत मेमा भारतमा एकैदिन कोरोनाका ४ लाख १४ हजार संक्रमित थपिएका थिए। त्यतिबेला भारतमा डेल्टा भेरियन्टको संक्रमण थियो। डेल्टा भेरियन्ट भारतमै पहिलो पटक पत्ता लागेको थियो। त्यो दर घट्दै गएर डिसेम्बर २० मा ५ हजार ३ सय २६ पुगेको थियो। त्यसपछि भारतमा फेरि संक्रमण बढ्न थालेको हो।
संक्रमण बढेपछि दिल्ली र महाराष्ट्रका अधिकारीहरूले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन्।
दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा फैलिसकेको छ। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ।
तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन। धेरै देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिने क्रम तीव्र भएको भन्दै विज्ञहरुले तयारीमा तीव्रता दिनुपर्ने बताएका छन्।
छिमेकी देश भारतमा संक्रमण बढ्नु नेपालका लागि पनि निकैनै जोखिमपुर्ण छ। खुल्ला सिमा नाकाका कारण संक्रमितहरु ओहोरदोहोर गर्ने हुँदा संक्रमण फैलिने सम्भावना बढी हुन्छ। नेपालमा पनि ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भैसकेको छ। डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएको थियो।
तेस्रो साता गरिएको अर्को जीनोम सीक्वन्सिङमा थप एक जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको छ। उता फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।
युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन्। इटली, ग्रीस, पोर्चुगल र बेलायत सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।
कोरोनाको दोश्रो लहरको पिडा कम नहुँदै नयाँ चुनौती थपिएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिएसँगै अवस्था जटिल हुन सक्ने देखिन्छ। तर सरकारकाे तयारी भने एकदमै सुस्त देखिन्छ।
नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो। डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो।