काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्य भएको छ। कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्। हिजो (बुधबार) भने संक्रमणबाट दुई जनाको निधन भएको थियो। अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ।
पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन्। जसमध्ये ४ हजार ६३४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म २ करोड ४२ लाख ८२ हजार ३६० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। यसमध्ये १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।