काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तिव्र पारिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्तालयले काठमाडौँ उपत्यकाको ३ वटै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ।
मन्त्रालयले १८ वर्ष माथिका खोप नलगाएका र गर्भवती भएको ३ महिना नाघेका महिलाहरु सबै जनालाई जति सक्दो छिटो गएर खोप लगाउन अनुरोध गरेको छ। यसका अलवा ५७ जिल्लाका किशोरकिशोरीहरुलाई कोरोनाविरुद्धको मोडर्ना खोप अभियान पनि सरकारले सञ्चालन गरिरहेको छ।
मन्त्रालयका अनुसार हालसम्म २ करोड ४२ लाख ८२ हजार ३६० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। यसमध्ये १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।
यसैबिच सरकारले कोभिड १९ विरुद्धको खोपको ‘अतिरिक्त डोज’ पनि दिने निर्णय गरेको छ। मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले प्राथामिकता छनौट गरेर अतिरिक्त खोप दिने तयारी गरिरहेको जानकारी दिइन्।
सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई उक्त खोप दिने तयारी गरेको छ। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले ६० वर्षभन्दामाथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो। सोही आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। अतिरिक्त खोप कहिलेबाट दिने भनेर थप निर्णय हुन बाँकी रहेको छ।
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ भने अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिनुपर्नेछ।