काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच बालुवाटारमा भेवार्ता भएको छ।
डाक्टर केसीले उठाउँदै आएका एजेन्डाबारे प्रधानमन्त्रीसँग कुराकानी भएको हो। आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमबीच छलफल भएको हो।
भेटवार्तामा अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धताहरु तथा डा केसीले यही पुष ११ गते राखेका ७ बुँदे मागहरुका विषयमा छलफल भएको छ।
डा केसीले गत आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन सुरु गर्न माग गरेका थिए।
उनले खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी लगायत सात बुँदे माग अघि सारेका छन्।